HomeNewsसिकाइमा डिजिटल प्रविधिको प्रयोग

सिकाइमा डिजिटल प्रविधिको प्रयोग

विद्यार्थीको उमेर, मनोविज्ञान, स्तर ख्याल गरेर बनाइएका सामग्रीहरु ईपाठमा उपलब्ध छन्

  भलाकुसारी | टीकाराज कार्की

आजकाल मानिसलाई घरमै बसेर समय बिताउन गाह्रो भईरहेको छ । छटपटाहट छ । समय समयमा आउने समाचार सुन्न भ्याईनभ्याई छ । सडक सुनसान छ । घरबाहिर कोही ननिस्किउँ । मास्क लगाईराखौँ । साबुन पानीले पटकपटक मिचेर हात धोईराखौँ । नाक, मुख र आँखामा हात नलैजाऔँ । एक अर्कासँग सामाजिक दुरी कायम राखौँ । यो कुरा प्रायः सबैलाई कण्ठ भइसक्यो । यसको जस कोरोना भाइरस (कोभिड १९) लाई जान्छ । सन् २०१९ को डिसेम्बरमा चीनमा उत्पत्ति भएको यो भाइरसले संसारमा बितण्डा मच्चाउँदै छ । हाल संसारका २०५ भन्दा बढी देश र २ वटा पानी जहाजमा समेत संक्रमण भइसकेको छ ।

हिजो ढुक्कका साथ चलिरहेको समाजलाई करिब करिब आफ्नो कब्जामा जमाईसकेको छ, यस भाइरसले । विश्व स्वास्थ्य संगठन, नेपाल लगायत विश्वका सरकार र यसका निकायहरूलाई यो भाइरस नियन्त्रण गर्न लागेका छन् । नेपालको सन्दर्भमा आगामी वर्षको बार्षिक योजना र बजेट तयार पार्ने समय यही हो । संसदबाट महत्वपूर्ण विधेयक पास गर्ने तथा नियुक्ति गर्न बाँकी नै थिए । एक्कासी कोरोनाको हमलाको कारण संसदीय अधिवेशन त बन्द नै भइसक्यो । विश्वविद्यालय स्तरका सबै परिक्षा स्थगित भएका छन् । शिक्षा क्षेत्रमा फलामे द्वार ठानिएको माध्यमिक शिक्षा परिक्षा रोकिएको छ । त्यस्तै हालत छ कक्षा ११ र १२ को पनि । कक्षा १ देखि ९ सम्मका वार्षिक परिक्षा हतार हतार सकिए पनि नतिजा प्रकाशन हुन सकेन । नयाँ शैक्षिक शत्र सुरु हुने समय भइसक्यो कोरोनाको सन्त्रासले सबैलाई गाँजेको छ ।

भनिन्छ, हरेक समस्या समस्याको रूपमा मात्र आउँदैन । यसको पछाडि अन्य विकल्प र सम्भावना पनि उत्तिकै हुन्छन् । समस्यालाई समस्याको रूपमा मात्र हेरेर थकित मनस्थिति लिएर रहिरहने रहने हो भने त्योचाहिँ साँच्चि नै समस्या हो । त्यसले समाजका हरेक अंगलाई नकारात्मक प्रभाव पार्छ । तर, यसलाई एक अवसरको रूपमा हेर्योन भने समाज विकासको नयाँ मोडल पनि स्थापित हुन सक्छ । यही सेरोफेरोमा रहेर हालको विषम परिस्थितीमा शिक्षण सिकाइको कार्यलाई कसरी नयाँ तरिकाले निरन्तरता दिन सकिन्छ भनेर विभिन्न विचारहरू आएका छन् । यी फरक विचार अनुसार बालबालिकाहरूलाई नियमित काममा सहभागी गराईराख्न सकियो भने सिक्ने बानीलाई निरन्तरता दिन सकिन्छ । यसबाट हालको महामारीप्रति हुने चिन्ता पनि कम गर्न सकिन्छ । साथै आगामी दिनमा विद्यालय सुरु भएपछि तिनको सिकाइको निरन्तरता दिन मद्दत मिल्छ ।
बालबालिकाले सिकाईलाई निरन्तरता नदिए के हुन्छ ?  
विद्यालय खुलेपछि एकैपटक विद्यालय जाँदा पढ्ने सिक्ने बानी कम हुन्छ । अल्छी लाग्छ । भनिन्छ नि, खाली दिमाग सैतानको घर । बढी खेलेरमात्र बस्ने बानी हुन्छ । सृजनशीलता घट्छ । दिउँसो सुत्ने बानी हुन्छ । टेलिभिजनमा अनावश्यक समय बित्छ । सामाजिक सञ्जालमा व्यस्तता बढ्छ । सिक्नेभन्दा अनावश्यक मनोरञ्जनमा समय जान्छ । अभिभावकहरूको चिन्ता बढ्छ । कोरोनाको मात्र समाचार, छलफल, अपडेटमात्र सुनिरहँदा त्रास उत्पन्न हुन्छ । चिन्ता बढ्छ । संक्रमित र ज्यान गुमाएको मात्र सुन्दा नैराश्यता बढ्न सक्छ ।
त्यसो हो भने के गर्ने त ?
यस्तो अवस्थामा बालबालिकाहरूलाई अनौपचारिक गतिविधिमा व्यस्त बनाउनु एक अवसर साबित हुनसक्छ । यसका लागि सामान्यतया तलका क्रियाकलाप गराउन सकिन्छ ।
आफ्नो बालबालिकालाई घरमा बस्दा के गर्ने भनेर समय छुट्टयाई दिनु राम्रो हुन्छ । यसका लागि तिनलाई घरको नियमित काम सिकाउन र लगाउन सकिन्छ । घर, कोठा र आफ्नो सरसफाई गर्ने, खाना बनाउने, भएमा फूलबारी वा तरकारी बारीमा काम लगाउने, एकअर्काको काममा सहयोग गर्ने आदि ।
कुनै एक समयमा नाच, गानमा व्यस्त गराउन सकिन्छ । केही समय कथा, कविता, गीत वा यस्तै केही लेखनमा लगाउन सकिन्छ । चित्र बनाउने, रङ्गाउने काम दिन सकिन्छ । यस्तो कार्यमा आफूभन्दा ठूलाको सहयोग लिन र सानालाई सहयोग गर्न लगाउन सकिन्छ ।
हरेक दिन कुनै एक सफलताको कथा सुनाउन सकिन्छ । समाजको उदाहरणीय व्यक्तित्वको बारेमा जानकारी दिन सकिन्छ । गलत काम गर्योन भने के हुन्छ? भन्ने कुराको स्पष्ट जानकारी गराउन सकिन्छ । यस्तो कार्यमा तिनलाई आफ्नो विचार भन्न लगाउन सकिन्छ । तिमीलाई कुन पक्ष राम्रो लाग्यो र किन? अनि तिमि भविष्यमा कस्तो मानिस बन्ने र किन? लगायतका छलफल गर्न लगाउन सकिन्छ । यस्तो बेलामा अभिभावक आफूपनि सँगै रहनुपर्छ ।
प्राकृतिक विपत्ति, कुनै रोगको महामारीको बारेमा जानकारी दिन सकिन्छ । यी हरेक हुनका कारणहरू बताउन सकिन्छ । साथै यिनको रोकथाम र सम्भावित क्षतिका बारेमा जानकारी गराउनु राम्रो हुन्छ । यसको बारेमा जानकारी गराउँदाचाहिँ तिनको उमेर र स्तरलाई ख्याल गर्नु उपयुक्त हुन्छ ।
सम्भव भएमा परिवारको ज्येष्ठ सदस्यले कुनै अनुभवलाई हाउभाउसहित सुनाउन सकिन्छ । जस्तै हजुरआमाको कथा, हजुरबाको यात्रा, काकाको खेलकुद सम्झना, आमाको बाल्यकाल आदि । यसबाट भविष्यको बाटो रोज्न सहज हुन सक्छ ।
हालको अनिश्चितता एकदिन त अन्त्य हुन्छ नै । त्यसपछि बालबालिकाहरू आफ्नो नियमित पढाइ सिकाइ कार्यमा सहभागी हुनैपर्छ । तिनलाई अन्य अनौपचारिक कार्यमा मात्र राख्नुभन्दा औपचारिक सिकाइ प्रक्रियामा पनि केही समय बिताउन लगाउनु राम्रो हुन्छ । चाहे ती पुस्तक हुन् या अनलाईन/अफलाईन सामग्रीहरू ।
तपाईँको बालबालिकाहरू माथ्लो कक्षामा जाँदैछन् भने ती पुस्तकहरू क्रमशः हेर्न लगाउनु पनि राम्रै हुन्छ । यसका अलावा तिनको स्तर मिल्ने खालका पुस्तकहरू पढ्ने समय मिलाईदिएमा राम्रो हुन्छ । यसका लागि उमेर समूह अनुसार सान्दर्भिक कथा, कविताका पुस्तकहरू हुन सक्छन् । हाल बजार, पसल बन्द भएका कारण घरमै भएका वा कुनै माध्यमबाट ल्याएर प्रयोग गर्न दिन सकिन्छ ।
यो पढाइ त भयो परम्परागत पढाइ । यसलाई पनि सामग्री भएसम्म कायम राख्दै आजको नयाँ प्रविधिको पनि प्रयोग गर्न सक्नुहुन्छ । बालबालिकाको सिकाई प्रक्रियामा प्रविधिको प्रयोग गर्न लगाउनु भयो भने समयको सदुपयोग मात्र हैन, बालबालिकाहरू प्रविधिप्रति चासो दिने, सिक्ने र प्रयोग गर्ने भएकाले एक अवसर पनि हुनसक्छ । विद्यालयमा सधैंभरि पुस्तकमात्र पढ्दा दिक्दार भएको हुनसक्छ । पुस्तकहरू रङ्गीन नहुन सक्छ । पुरानो भएको वा च्यातिएको हुनसक्छ । आकर्षक नहुन सक्छ । अन्तर्क्रियात्मक र प्रविधिमैत्री त हुँदैन नै । त्यसैले समय निकालेर बालबालिकाहरूलाई प्रविधिमैत्री सामग्री पनि प्रयोग गर्न दिन सकिन्छ । यसबाट बदलिँदो समयको मागअनुसार त्यस्तैमा ध्यान केन्द्रित हुन्छ, सिकाइ प्रभावकारी हुन्छ ।
कसरी गर्ने ?
यसका लागि बालबालिकाहरूलाई घरमै टेलिभिजन, कम्प्युटर, मोबाइल ट्याबहरू प्रयोग गर्न दिन सकिन्छ । सँधै टेलिभिजनबाट समाचार, मनोरञ्जन वा कार्टुनलगायतका विभिन्न सामग्रीहरू हेर्न बानी भएका हुन्छन् । हाल टेलिभिजनमा सरकारी लगायत केही निजी संस्थाहरूले शिक्षा सम्बन्धी विभिन्न जानकारी प्रदान गरिरहेका छन् । अब नियमित सिकाइमा सहयोग पुग्ने यस्ता सामग्री हेरेर सिक्न लगाउनु उपयुक्त हुन्छ ।
घरमा कम्प्युटर भएमा सिकाइमूलक खेलहरू खेल्न दिन सकिन्छ । ईन्टरनेट भएमा विभिन्न अनलाईन सामग्रीहरू खोजेर हेर्न लगाउन सकिन्छ । तर, ईन्टरनेट प्रयोग गर्दाचाहिँ सावधानी अपनाउन भन्नुपर्छ । नत्र अनावश्यक साइटहरूमा गएर समयको बर्बादी हुनसक्छ भने सिकाउन चाहनुभएको कुरा नसिक्न पनि सक्छन् । तपाईँले बच्चाको उमेर र विषयगत सामग्रीहरू भएका साईटहरूमा गएर हेर्न, सुन्न, पढ्न, अभ्यास गर्न लगाउन सक्नुहुन्छ । यसवाट बच्चा प्रविधिमा साक्षर र क्रमशः जानकार हुनुका साथै स्वतःस्फुर्त रूपमा कम्प्युटर चलाउन जान्ने हुन्छ । कम्प्युटर प्रयोगमा डराउँदैन ।
नियमित ईन्टरनेट नभएर कम्प्युटर मात्र छ भनेपनि त्यसबाट गर्न सकिने कामहरू सिकाउन सक्नुहुन्छ । ईन्टरनेट एकछिन चलाएर वा अन्यत्रबाट शैक्षिक प्रयोजनका लागि तयार पारिएका कक्षागत र विषयगत डिजिटल सामग्रीहरू ल्याएर ईन्स्टल गरेर प्रयोग गर्न दिन सक्नुहुन्छ । विभिन्न ज्ञानबर्धक पुस्तक, अडियो तथा भिडियोको स्वरुपमा हुने यस्ता सामग्रीहरू बच्चाले रमाएर प्रयोग गर्दै सिक्न सक्छ ।
केही सामग्रीहरू मोबाइल र ट्याबमा पनि प्रयोग गर्न सकिने खालका हुन्छन् । तपाईले त्यस्ता सामग्री ल्याएर दिन सक्नुहुन्छ । नियमित प्रयोगका लागि ल्याएको मोबाइललाई नै यस काममा प्रयोग गर्न सकिन्छ । सस्तो र कम विद्युत चाहिने भएकाले कम्प्युटर प्रयोग गर्न कठिन भएका ठाउँमा पनि मोबाइल उपयोगी साबित हुनसक्छ ।
कस्ता सामग्री दिने ?
हाल बजारमा विभिन्न किसिमका डिजिटल सामग्रीहरू पाईन्छन् । बालबालिकालाई सिकाइमा प्रयोग गर्न दिने यस्ता सामग्री छनौटमा एकदमै ख्याल पुर्यााउनुपर्छ । ती सामग्रीहरू कुनै पैसा तिर्नुपर्ने हुन्छन्, कुनै निःशुल्क । पैसा तिरेर पनि निश्चित समयसम्म चल्ने वा निश्चित उपकरणमा मात्र चल्ने हुन्छन् । कुनै निश्चित उमेर समूहका लागि बनाइएका हुन्छन् भने कुनै समग्र एकैठाउँमा हुनाले प्रयोगकर्ता आफैले छनौट गरेर हेर्नुपर्ने हुन्छन् । कुनै कक्षागत र विषयगत रूपमा छुट्याईएका हुन्छन् भने कुनै एकै ठाउँमा हुन्छन् । कुनैमा आवाज, चित्र, एनिमेसन र अक्षरसमेत हुन्छ भने कुनैमा यीमध्ये सबै वा केहीमात्र हुन्छन् । कुनै अनलाईन मात्र चल्ने हुन्छन् भने कुनै अनलाईन र अफलाईन दुवै चल्ने हुन्छन् । कुनै सामग्री प्रयोग गरेका आधारमा रकम तिर्नुपर्ने हुन्छ ।  विद्यार्थीको उमेर, मनोविज्ञान, स्तर ख्याल गरेर बनाइएका सामग्री पनि पाइन्छन् भने कुनै आफुखुशी बनाइएका हुन्छन् । कुनै व्यापारिक प्रयोजनले बनाइएका हुन्छन् भने कुनै सामाजिक उत्तरदायित्व अनुसार निःशुल्क वितरणका लागि बनाइएका हुन्छन् । कुनै सामग्री सम्बन्धित सरकारी निकायबाट मान्यता प्राप्त हुन्छन् भने कुनै हुँदैनन् ।
बजारमा पाइने यस्ता सामग्रीहरूको छनौटमा अभिभावकले विशेष ध्यान दिनुपर्ने हुन्छ । आफ्नो बच्चाको कक्षागत र विषयगत पाठ्यक्रममा मिल्ने छ कि छैन । खरिद गर्नुपर्ने हो भने कति पर्छ, नियमित रकम तिरिरहनु पर्ने हो कि, एकपटक लिएपछि कति समय चल्छ, कतिवटा उपकरणमा चल्छ, प्राविधिक सहयोग उपलब्ध छ छैन, सम्बन्धित निकायबाट मान्यता प्राप्त छ कि छैन । प्रयोग गर्ने तरिका उल्लेख भएको छ कि छैन, यी सबै कुराहरू ख्याल गर्नुपर्छ ।
यी सामग्रीहरुको भीडमा साझा शिक्षा ई-पाटीले तयार पारेका सामग्रीहरू भने निःशुल्क उपलव्ध छन् । आवाज, चित्र, एनिमेशन र अक्षरको सम्मिश्रण भएका यी सामग्रीहरू पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त छन् । लामो समय लगाएर तयार पारिएका सामग्रीहरू अंग्रेजी र नेपाली भाषामा उपलव्ध छन् । राष्ट्रिय पाठ्यक्रममा आधारित सामग्री कक्षा एकदेखि आठसम्मका अंग्रेजी, गणित र विज्ञान तथा कक्षा एक देखि चारसम्मका नेपाली विषयका छन् । यी सामग्री प्रयोग गर्न निरन्तर ईन्टरनेटको आवश्यकता पर्दैन, एकपटक डाउनलोड गरेर कपी गरेपछि एकसाथ जतिपनि उपकरणहरूमा प्रयोग गर्न सकिन्छ । यहाँ हज्जारौँ पुस्तक, अडियो पुस्तक, भिडियो, एसईई सहयोगी सामग्रीलगायत अभ्यास गर्न सकिने शैक्षिक सफ्टवेयरहरू राखिएका छन् । कृषि, भाषा, स्वास्थ्य, खेल, धार्मिक, ऐतिहासिक समेत समेटिएका यी सामग्रीहरू बालबालिकाको लागिमात्र नभै शिक्षक, अभिभावक सबैका लागि पनि उपयोगी छन् । यहाँ एसईई दिनेका लागि अडियो पुस्तक सुन्न, पढ्ने सीप विकास गर्न, पढ्न सिक्नका लागि विभिन्न सामग्रीहरू तयार पारिएका छन् ।
(कार्की साझा शिक्षा ई-पाटीका सिनियर मेनेजर हुनुहुन्छ)
साझा शिक्षा ई-पाटीमा उपलब्ध निःशुल्क पाठ्यसामग्री यहाँ उल्लेखित लिङ्कमार्फत प्रयोग गर्न सकिन्छ । मोबाइलमा Epustakalaya नामक एपमार्फत पनि पढ्न सकिन्छ ।
___
Published on 2020-04-23
——

टीकाराज कार्की | लेखक